काठमाडौं । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।
दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाउने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जना कोरोना भाइरसबाट निको भएका हुन ।
उक्त कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका २५ जनामध्ये पहिलो संक्रमितसहितको २१ जनाको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताए ।
थापाका अनुसार पहिलो संक्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो भने तेस्रो परीक्षणमा नेगेटिभ आएको हो । अन्य २० जनाको भने दोस्रो पटक देखिकै रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई शुक्रबार स्वास्थ्य परामर्शपछि घर पठाउने तयारी अस्पताले गरेको छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो ।