काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।
संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।