वीरगञ्जका नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     १० जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । वीरगञ्जका नारायणी अस्पतालमा उपचार गराइरहेका ७२ मध्ये ९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएपछि शनिबार डिस्चार्ज भएका छन् ।

एक भारतीयसहित पर्साका तीन जना, बाराका दुई जना र रौतहटका तीन जना गरी नौ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।

गत वैशाख १४ मा डिस्चार्ज भई पुनस् कोभिड पोजिटिभ देखिएपछि वैशाख १९ र २० मा भर्ना गरिएका वीरगन्जको एक मस्जिदमा पोजिटिभ पुष्टि भएका भारतीय नागरिक र रौतहट इशनाथ नगरपालिकाका युवकसमेत शनिबार निको भएर डिस्चार्ज भएको मेसु डा. उपाध्यायले बताए । वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, ३ का ५० वर्षीय, १६ का ५१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी बारा जितपुर सिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् । रौतहट वृन्दावन नगरपालिका ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका १ करुनीयाका २२ वर्षीय युवक निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा।उपाध्यायले जनाए ।

शनिबार डिस्चार्ज भएका ९ पुरुष वैशाख १४ यता नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।