कोरोना भाइरस नेपालको लागि अवसर हुनसक्छः मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     ११ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ११ जेठ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि पोखरा सभागृहमा सुरु भएको छ । कोरोनाका कारण सामाजिक दुरी कायम गर्न प्रदेश सभा बैठक साँघुरो हुने हुँदा बैठक स्थल सभागृहलाई तोकिएको हो ।

प्रदेश सभाको पहिलो दिनको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस नेपालका लागि अवसर हुन सक्ने बताएका छन । गुरुङले कोरोना भाइरस चुनौती मात्र नभएर अवसर पनि हुन सक्ने बताएका हुन ।

‘मैले त कोरोना भाइरसलाई एउटा अवसरका रुपमा पनि देखेको छु ।’ मुख्यमन्त्रीले भने–‘सबै जिल्ला अस्पतालहरु अपग्रेड गरिदैछ । तल्लो तहमा पुगेका अस्पताललाई पनि विकास गर्नु पर्नेछ । अहिले सबैले यसतर्फ ध्यान दिनु जरुरी छ ।’

उनले सबै जिल्ला अस्पतालहरुको स्तरउन्नती गर्न गण्डकी प्रदेश सरकारले बजेटमा ध्यान दिने बताए । कोरोनाका लागि खटिएर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारीलाई ३० लाखको स्वास्थ्य बिमा गर्ने मुख्यमन्त्री गुरुङले बताए । गण्डकी प्रदेशमा एक सय वेडको आइसोलेसन वेडको तयारी गरेको उनको भनाई छ ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले विभिन्न समितिमार्फत काम गरेको बताउँदै कोरोना रोकथाममा प्रदेशबासीको भूमिका पनि महत्वपूर्ण रहेकाले सबैलाई धन्यवाद दिए । सोही कारण गण्डकी प्रदेश र कर्णाली प्रदेश ग्रीन जोन भन्न नमिलेपनि धेरै हदसम्म उत्कृष्ट काम गर्न सफल भएको बताए ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना भाइरस नियन्त्रणमा गण्डकी प्रदेशको चुनौतीहरु अझ बाँकी रहेको बताए । उनले प्रदेश सरकारले छुट्टै अस्पताल बनाउन नसकेको कारण धेरै बिरामीहरुले दुःख पाएको बताए । कोरोनामा मारमा परेका सबैलाई राहत पुग्ने प्याकेज ल्याउन प्रदेश सरकारलाई सुझाब दिए ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशको अर्को बैठक जेठ १३ गते १ बजे बस्ने जानकारी गराएका छन् ।