पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको ईद पर्व सुरक्षित रुपमा घरभित्रै बसेर मनाउन आग्रह गरेका छन्। इस्लाम समुदायले मनाउने ईद पर्वको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्रीले विश्वव्यापी फैलिएको कोभिड– १९ को महामारीको सामना गर्नुपरिरहेको विशेष परिस्थितीमा प्रकोपवाट बच्न विशेष सर्तकता अपनाउँदै पर्व मनाउन अपिल गरेका हुन्।
रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको उल्लेख गरेका छन् ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै प्रधानमन्त्री ओलीले यस्ता विशेषताहरू नेपालको आफ्नै मौलिक पुँजीको रुपमा रहेको र एकता र सहिष्णुताको यस्तो पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन्।
विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सदभाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् ।