कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र कोरोनाका कारण मृत्यु भएको बताए ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको मृत्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या भएको उनको मृत्यु भएको ८ दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको मृत्यु भएको दिनमै दाहसंस्कारसमेत गरिसकिएको छ ।

यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृतकमा कोरोना पुष्टि भएको थियो ।