नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज, अस्पताल सङ्क्रमितमुक्त

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०७७ मा प्रकाशित


दीपकप्रसाद गौतम

वीरगञ्ज, १२ जेठ । कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । सबै संक्रमित कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएपछि अस्पताल संक्रमितविहीन बनेको छ । पछिल्लो शनिवार, आइतबार र सोमवार गरी तीन दिनमा ७० जना कोरोना संक्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना संक्रमितमुक्त बनेको हो ।

पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका संक्रमित गरी ४३ जना कोरोना संक्रमितलाई सोमवार साँझ डिस्चार्ज गरी घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।

सबै संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि दुई जना महिलासहित ४३ जनालाई सोमवार डिस्चार्ज गरिएको हो । त्यस्तै, आइतबार राति ११ बजे एकै परिवारका १८ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिवार नौ जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । यसरी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै संक्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ ।

वीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ । उपचाररत २७ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताए । – गोरखापत्र अनलाइन