पोखरा । रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा त्यहाँका सांसद जनार्दन शर्माले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ । जाजरकोटाका दलित युवकको रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका विषयमा सांसदहरुले कुरा उठाइरहँदा संसदमा तनाव भएको हो ।
घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाउँदै शर्माले बोलिरहँदा कांगे्रेससहितका सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए ।
सभामुख सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादललाई बोल्न दिँदा केही समय होहल्ला गरिरहेको थियो । यसअघि गृहमन्त्री थापाले यसबारे आजै राष्ट्रियसभामा पनि सांसदहरुको प्रश्नको उत्तर दिइसकेका छन । प्रतिनिधिसभमा पनि गृहमन्त्रीले घटनाको बारेमा बताइसकेको छ ।
रुकुम पश्चिमको घटना छानबिनका लागि गृहद्वारा समिति गठन
गृहमन्त्री थापाले रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको जानकारी गराएको छ ।
गृहमन्त्री थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको दुवै संदनलाई जानकारी गराएका छन् ।
थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।