काठमाडौं । रौतहटको विभिन्न चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसमेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ ।
यसैगरी आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो।
बारामा देखिएका संक्रमितहरूमा दुई जना नेपाली सेनाका हुन्। उनीहरू क्वारेन्टिनको सुरक्षार्थमा खटिएका थिए । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक पुष्टि गर्न भने बाँकी छ ।
यसैगरी स्याङ्जामा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले पनि कोरोना संक्रमित भेटिएपछि स्याङजामा टिम पठाएको जानकारी दिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ । उनीहरुमध्ये बागलुङका २ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।