पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई लक्षित गरी सरकारले उचित कदम चाल्न माग गरिएको छ । प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले सीमा क्षेत्रबाट नेपाली भित्रिने क्रमसँगै कोरोना सङ्क्रमण पनि बढिरहेकाले राखिएका क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने र पिसीआरको दायरा बढाउनु पर्ने माग गरे । सदस्यले भित्रिएका सर्वसाधारणको उचित व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले मुलुक कोरोना भाइरसको मारमा परेको बताउँदै भारतबाट आएका सर्वसाधारणको सुरक्षित व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए । क्वारेन्टिन व्यवस्थित बन्न नसकेको उल्लेख गर्दै उनले बनाइएका क्वारेन्टिनमा खानपान, शौचालयलगायतका समस्या रहेको बताए । कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कोरोनाका कारण अर्थतन्त्रमा परेको सङ्कटका साथै विकास निर्माण ठप्प भएकोप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।
सदस्य कृष्णबहादुर थापाले कोरोनाको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्माणमा खटिएका मजदुर आदिको परिवारका सदस्यको कम्तीमा एक जनाको पिसीआर परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याए । स्थापित क्वारेन्टिनको स्तर मापन गर्नुपर्नेमा उनको जोड छ । प्रदेशसभा सदस्य दोवाटे विश्वकर्माले कोरोनाको त्रासबाट नेपाल अछुतो रहन नसकेको उल्लेख गर्दै अस्पतालहरूलाई सुविधासम्पन्न बनाउँदै परीक्षणको दायरा बढाउनुपर्ने बताए ।
प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोरखाको उत्तरीभेगका जनता भोकभोकै परेको, मल, बीउ नपाएको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराए । अर्का सदस्य भगवतप्रकाश मल्लले वालिङको क्वारेन्टिनमा रहेका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको बताउँदै उनीहरूको प्रभावकारी उपचार हुनुपर्ने बताए । सङ्क्रमितको आवश्यकतानुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर उपचार गर्न उनले माग गरे ।
प्रदेशसभा सदस्य मनकुमारी गुरुङले बन्दाबन्दीका कारण गण्डकी प्रदेशको पर्यटनमा गम्भीर असर पारेको बताए । उनले बन्दाबन्दीका कारण ऋण लिएर व्यवसाय सञ्चालन गरिहेका व्यवसायीलाई यसको प्रभाव रहँदासम्म ब्याज मिनाहा गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य मनबहादुर गुरुङले हालैको बाढीका कारण मादी गाउँपालिकामा पारेको प्रभावबारे ध्यानकर्षण गराए । लक्ष्मी सुनारले दलित समुदायका व्यक्तिले अन्तरजातीय विवाह गर्न खोज्दा चौरजहारीमा भएको घटनाबारे ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले हालैको आँधीबेहरीले नवलपुरको गैँडाकोटमा पारेको असरबारे ध्यानार्षण गराउनुभयो ।प्रदेशसभा सदस्य मणिभद्र शर्माले वाग्लुङको धवलागिरि अञ्चल अस्पतालमा व्यवस्थापन समितिका अध्यक्षले अपाङ्गता कर्मचारीलाई हाजिर हुन नदिएको प्रति ध्यानाकर्षण गराए ।