सन थापा
जापान (क्योतो), २६ मे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरस संक्रमित बढेपछि घोषणा गरेको आपतकालीन अवस्था जापान सरकारले ३९ औं दिनबाट हटाएको छ ।
कोरोना संक्रमणको दर घट्दै गएपछि जापानका प्रधानमन्त्री शिन्जो आवेले सोमबार पत्रकार सम्मेलन गरी आपतकाल हटेको घोषणा गरेका हुन् ।गत अप्रिल १७ मध्यरातबाट लागु गरेको आपतकालीन अवस्था विभिन्न चरणमा ४७ ओटै प्रान्तमा घोषणा गरेको थियो । यसैगरी कम संक्रमण भएको प्रान्तहरूमा चरणबद्द रूपमा आपतकालीन अवस्था हटाउदै आएको थियो भने सबैभन्दा बढी संक्रमित प्रान्त टोकियो, कानागावा, होक्काईदो, साईतामा, चिबामा अन्तिममा हटाएको हो ।
आपतकालीन अवस्था हटेपनि यहाँको प्रभावित बनेको होटल व्यवसाय, यातायात, कलकारखाना, उधोग लगायतका क्षेत्र सामान्य अवस्थामा आउन अझै समय लाग्ने बताईएको छ ।
यो समाचार तयार पार्दासम्म जापानमा संक्रमितको संख्या १६ हजार ६ सय ३२ र योकोहामा पोर्टमा क्वारेन्टाईन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरु ७ सय १२ गरी १७ हजार ३ सय ४४ जना पुगेका छन्। जसमध्ये ८ सय ६४ जनाको मृत्यु, १ सय ६६ जना गम्भीर बिरामी र १४ हजार २ सय ६५ जना सन्चो भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । जसमध्ये सात जना नेपाली संक्रमित भई उपचारपछि सामान्य अवस्थामा रहेको जनाईएको छ ।