संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीको आग्रह

-


     मर्दी न्युज    
     १३ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक तीन घण्टा लामो छलफल पछि सकिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा एक भएर अघि बढ्न सबै दल र दलका नेतासँग आग्रह गरेका छन्।

प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् ।

‘संविधान संशोधन प्रस्तावको पक्षमा हामी छौँ। राष्ट्रियताको विषयमा हामी एक ठाउँमा छौँ’, देउवाले बैठकमा भने, ‘हामीलाई समय दिनुहोस् केन्द्रीय समिति बैठक बसेर निर्णय गर्छौँ।’ जवाफमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संकट भएकाले तत्काल निर्णय लिन आग्रह गरेका छन्।

बैठकमा सहभागी मधेस केन्द्रित दलका नेताले भने संविधान संशोधन गर्दा मधेसका मागलाई प्याकेजमै हल गर्न माग गरेका छन्। जवाफमा प्रधानमन्त्री ओलीले संविधान २०७२ मंसिरमा संशोधन भएको र अहिले गरेर पुनः फेरि गर्न सकिने भन्दै अहिले नक्साको विषयमा एकजुट हुन आग्रह गरेका छन्।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको छ।

संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। यो सँगै कोरोना महामारीको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।