पोखरा । बुधवार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको छ ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जना, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।
बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।