ललितपुर । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका बिरामीको बुधवार साँझ निधन भएको छ । नोपलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै पाँच पुगेको छ ।
किष्ट मेडिकल कलेज ललितपुरमा उपचाररत ५७ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको हो । लिभरका बिरामी समेत रहेका उनको स्वाव परीक्षणका लागि १२ गते पठाइएकोमा आज साँझ रिपोर्ट आएको थियो । ती पुरुषको साँझ साँढे ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ललितपुर महागनरपालिका २२ का ती बिरामी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
डा. गेलालले भने, ‘किष्ट मेडिकल कलेजको आइसीयुमा उपचाररत बिरामीको आज साँझ निधन भएको र १२ गते स्वाव परीक्षणका लागि पठाएकोमा साँझ नै रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु, अब के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछु ।’
ती बिरामी केही दिनअघि उपचारका लागि पाटन अस्पताल आएका थिए । ‘अल्कोहलिक लिभिर डिजिज’ बिरामी भएकाले आइसीयुमा राख्नुपर्ने भएपछि पाटन अस्पतालमा आइसीयु नभएपछि किष्ट मेडिकल कलेज पठाएको थियो । – नागरिक खबर