पोखरा, १६ जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख ६१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । वल्डोमिटर्सको शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६१ हजार ९ सय ९६ पुगेको छ ।
कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ५९ लाख ४ हजार २८४ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १७ लाख ६८ हजार ४६१ जनामा पुष्टि भैसकेको छ ।
यसैगरी अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने राष्ट्रमा ब्राजिल पुगेको छ । ब्राजिलमा ४ लाख ३८ हजार ८१२ जना कोरोना संक्रमित छन् । त्यस्तै रसियामा ३ लाख ७९ हजार ५१, स्पेनमा २ लाख ८४ हजार ९८६, बेलायतमा २ लाख ६९ हजार १२७ तथा इटलीमा २ लाख ३१ हजार ७३२ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै अमेरिका छ । अमेरिकामा १ लाख ३ हजार ३३० जना कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी बेलायतमा ३७ हजार ८३७, इटलीमा ३३ हजार १४२, फ्रान्समा २८ हजार ६६२, स्पेनमा २७ हजार ११९ तथा ब्राजिलमा २६ हजार ७६४ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विश्वभर २५ लाख ७९ हजार ५०५ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । उपचाररत २९ लाख ६२ हजार ७८३ जनामध्ये ५३ हजार ९७५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको छ । बिहीवार दिउँसो १५६ र साँझ गण्डकी प्रदेशको म्याग्दीमा १ जना संक्रमित थपिएसँगै यसको संख्या एक हजार ४३ पुगेको छ । हालसम्म १८७ जना उपचारपछि निको भएर घरफर्किसकेका छन् भने उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।