शुक्रवार एकैदिन थप १ सय ७० मा कोरोना पुष्टि, संक्रमित १२ सय नाघ्यो

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १६ जेठ । शुक्रवार नेपालमा थप १७० जनामा कोरोना पुष्टि भएको छ । शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको जानकारी दिएका हुन् ।

शुक्रवार संक्रमित हुनेमा १ सय ६५ जना पुरुष र ५ जना महिला रहेको प्रवक्ता विकास देवकोटाले बताए । मन्त्रालयका अनुसार अहिलेसम्म २०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ।

शुक्रवार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।