एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

-


     मर्दी न्युज    
     १७ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम ‘मिलेनियम कर्पोरेसन च्यालेन्ज’ (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएपछि त्यसबारे छलफल गर्न सचिवालय बैठक बस्दैछ ।

शनिबार (आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने स्रोतले बताएको छ ।

एमसीसीलाई बजेटमा घुसाएकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रवार साँझ भेटेर पार्टीमा निर्णय नभई बजेटमा राखेकोमा आपत्ति जनाएका थिए । यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका थिए ।

सरकारले बिहीबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा लप्सीफेदी–रातामाटे– हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख गरेको छ । अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । तर प्रस्तुत बजेटमा एमसीसी भनेर उल्लेख गरेको भने छैन ।

प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएअनुसार आज बस्ने सचिवालय बैठकले एमसीसी परियोजना पारित गर्नुपर्ने निष्कर्ष निकाल्ने बताइएको छ । स्रोतका अनुसार एमसीसीमा झलनाथ खनालबाहेक अरू नेता तुलनात्मक नरम छन् । शुक्रवारसाँझ प्रधानमन्त्री ओलीको प्रचण्डसँगको कुराकानीपछि एमसीसी पारित हुने निष्कर्षमा बालुवाटार पुगेको छ ।