शनिवार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार ४ सय एक पुग्यो

-


     मर्दी न्युज    
     १७ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । शुक्रवार देशभर १८९ जना कोरोना संक्रमित थप भएका छन् । शनिवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ८९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार शनिवार संक्रमितमध्ये १८५ पुरुष र ४ जना महिला रहेका छन् । संक्रमितहरु कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६, दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १ र बारा १ गरी १८९ जना रहेका छन् ।

प्रवक्ता डा. देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् ।

शनिवार १३ जना कोरोना निको भई डिस्चार्ज भएको छ भने हालसम्म २ सय १९ जना डिस्चार्ज भएका छन् ।  शनिवार बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।