पोखरा, १८ जेठ । म्याग्दीका कोरोना संक्रमित व्यक्ति भैरहवाको क्वारेन्टाइनबाट आएको व्यक्ति भएको बुझिएको छ । गत जेठ ९ गते भैरहवास्थित नमूना माविमा रहेको क्वारेन्टाइनबाट २३ यात्रुसहित आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जेठ ९ गते क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको म्याग्दी यातायात प्रा.लि.को गाडी नम्बर ना.५.ख २८९८ मा सवार म्याग्दीका १ व्यक्ति कोरोना पोजेटिभ देखिएसँगै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त बसमा सवार यात्रीहरुलाई स्वास्थ्य सेवामा सम्पर्क राख्न आग्रह गरेको छ ।
एउटै बसमा आएका २३ जनामध्ये हालसम्म १३ जनामात्रै सम्पर्कमा आएको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदबिन्दु शर्माले जानकारी दिएका छन् । कोरोना पुष्टि भएको तीन दिनसम्म बाँकी यात्रु सम्पर्कमा नआएपछि प्रतिष्ठानले प्रेस विज्ञप्ति नै जारी गरेर सम्पर्क आउन/ल्याउन आग्रह गरेको हो ।
बसमा सवार २३ जना यात्रीमध्ये गोरखा जाने १ जना आबुंखैरेनीमा, लमजुङ जाने ३ जना यात्री तनहुँको डुम्रेमा र पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा २ जना यात्री ओर्लेकाले स्वास्थ्य निर्देशानालयले नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।