आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     १८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १८ जेठ । आइतबार देशभर १६६ कोरोना संक्रमित थपिएका छन् । आइतबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो संक्रमितहरुमध्ये १६२ पुरुष र ४ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १ हजार ४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

आइतबार संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ५ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

प्रवक्ता डा. देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ६२ र आरडीटी विधिबाट एक लाख ११ हजार १०९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट चार हजार ५४ जनाको नमुना परीक्षण गरिएको छ ।