पोखरा । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी २ वर्षीया बालिका कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दैलेखका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो । यसअघि नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भएको थियो ।
दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।