पोखरा, १९ जेठ । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सोमवार ३ जना कोरोना संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाका वर्ष २२ र ३६ का २ जना पुरुषहरु र बिनयत्रिवेणी गाउँपालिकाका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
संक्रमितहरु सोही नगरपालिकाका क्वारेन्टाइनमा रहेकाहरु हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
कोरोना संक्रमितसँगै स्क्रब टाइफस र डेंगुको बिरामी गण्डकी प्रदेशमा देखा परेको निर्देशक शर्माले बताएका छन् । निर्देशक डा. शर्माका अनुसार हालै म्याग्दीमा ३ जना स्क्रब टाइफसको संक्रमित र १६ जना डेंगुका संक्रमित देखिएका छन् । डेंगु संक्रमितमा म्याग्दीमा ९, कास्कीमा ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १ र बागलुङमा १ गरी १६ जनामा देखिएकाले सतर्क रहन आग्रह गरिएको छ ।