फाइल तस्विर
बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । डिस्चार्ज भई घर फर्किनेमा चार वर्षकी बालिकासमेत छन् ।
अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।
यो संगै प्रदेश ५ मा उपचारपछि घर फर्किनेहरुको संख्या ७१ पुगेको छ । यो प्रदेशमा संक्रमितको संख्या पांच सय ५० छ ।