पोखरा । सोमवार देशभर गरी २ सय २६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो अहिलेसम्मकै धेरै संक्रमित संख्या हो । प्रवक्ता देवकोटाका अनुसार सोमवार संक्रमितमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यससँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता देवकोटाले बताए । सोमबार थप एक जिल्लामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको हो। यो सहित ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।
प्रवक्ता डा. देवकोटाका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको जनाए ।
तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ।