कोरोनाका कारण विश्वभर ३ लाख ७७ हजारको मृत्यु, ६३ लाख ६५ हजार संक्रमित

-


     मर्दी न्युज    
     २० जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २० जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख ७७ हजार बढीले ज्यान गुमाएका छन् । वल्डोमिटर्सको मंगलवार बिहानसम्मको तथ्याङ्कअनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार ३ सय ९७ पुगेको छ ।

कोरोना भाइरसबाट हालसम्म ६३ लाख ६५ हजार १७३ व्यक्ति संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १८ लाख ५९ हजार ३२३ जनामा पुष्टि भैसकेको छ ।

यसैगरी अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने राष्ट्रमा ब्राजिल पुगेको छ । ब्राजिलमा ५ लाख २९ हजार ४०५ जना कोरोना संक्रमित छन् । त्यस्तै रसियामा ४ लाख १४ हजार ८७८, स्पेनमा २ लाख ८६ हजार ७१८, बेलायतमा २ लाख ७६ हजार ३३२ तथा इटलीमा २ लाख ३३ हजार १९७ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै अमेरिका छ । अमेरिकामा १ लाख ६ हजार ९२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी बेलायतमा ३९ हजार ४५, इटलीमा ३३ हजार ४७५, ब्राजिलमा ३० हजार ४२, फ्रान्समा २८ हजार ८३३ र स्पेनमा २७ हजार १२७ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर २९ लाख ३ हजार ३८२ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । उपचाररत ३० लाख ८४ हजार ३९४ जनामध्ये ५३ हजार ४०७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ८ जनाको ज्यान गएको छ । सोमवार हालसम्मकै सबैभन्दा धेरै २३९ जना संक्रमित थपिएसँगै यसको संख्या एक हजार ८११ पुगेको छ । हालसम्म २२१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: