अछाममा एम्बुलेन्स चालक सहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि

-


     मर्दी न्युज    
     २० जेष्ठ २०७७ मा प्रकाशित


अछाम, २० जेठ । अछाममा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालै भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४ कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र एम्बुलेन्स चालक २३ वर्षीयलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

यस्तै चौरपाटी गाउँपालिकाका–२ का ३२ वर्षिया र सदरमुकामस्थित मंगलसेन नगरपालिकाका २३ वर्षीय एम्बुलेन्स चालकलाई प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परीक्षणका क्रममाकोरोना संक्रमण भएको पुष्टि भएको हो । कुष्कोटको क्वारेन्टाइमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको छ ।

सोमबार चौरपाटी गाउँपालिका–२ का ३३ वर्षीय व्यक्तिलाई प्रादेशिक अस्पताल धनगढीमा पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भेटिएको थियो । केही दिनअघि भारतबाट फर्कने क्रममा मेल्लेख–४ कुष्कोटका बुवा छोरीलाई धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अछाममा हालसम्म जम्मा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

कोरोना संक्रमित पुष्टि भएका व्यक्तिसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिको स्वाब संकलनका लागि ल्याब टेक्निसयिन सहित स्वास्थ्य कार्यालयको टोली चौरपाटी र मेल्लेख गएको छ । संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेशनमा राखेर उपचार गर्ने तयारी भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुंगानाको नेतृत्वमा चौरपाटी र जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाको नेतृत्वमा मेल्लेखमा टोली गइसकेको सूचना अधिकारी जोशीको भनाइ छ ।

भारतबाट मानिसहरु घर फर्केपछि कोरोनाको संक्रमणमा निकै जोखिम ल्याइरहेको विश्लेषण जिल्लामा गरिएको छ । जिल्ला बाहिरबाट आएका व्यक्तिहरुमा समयमै परीक्षणको दायरा बढ्न नसके खतरा बढ्ने अनुमान जनप्रतिनिधिको छ । – गोरखापत्र अनलाइन



Tags: