जाजरकोट — रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।
चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको हाे । उनी घटना भएकै दिन जेठ १० गतेदेखि बेपत्ता थिए ।
जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।