पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् ।
जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट पार्दै जघन्य अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने बताइएको हो ।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन ।’
छुवाछूतलाई मानव सभ्यताकै कलङ्कको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले अमानवीय हिंसाका घटनाहरूको छानबिन गरी दोषीमाथि कारबाही गरिने बताउँदै मानव सभ्यताको कलङ्कका रूपमा रहेको छुवाछूत प्रथालाई कानुनी रूपमा अन्त्य गरिए पनि सामाजिक रूपमै अन्त्य गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र विभेद निश्चित समुदायको मात्र नभई समाज र राष्ट्रको समस्या भएको बताउँदै सन्देशमा भनिएको छ, ‘जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्छु ।’
‘युगौँ अघिदेखि भइरहेको छुवाछूत प्रथा अन्त्य गर्न राज्यको तत्परता वा कानुनी निषेध मात्रै पर्याप्त हुँदैन । यस्ता अमानवीय प्रथाविरुद्ध राज्य र समाज दुवै तहमा सार्थक अभियान चलाइनु पर्छ ।’ सन्देशमा भनिएको छ ।