पोखरा । पोखराका उद्योगी व्यवसायीहरुले लकडाउनको मोडेलिटी परिवर्तन गर्दै खुकुलो नबनाए उल्लंघन गर्ने चेतावनी दिएका छन् । कोरोनाले भन्दा भोकमरीले मर्ने बेला आएको भन्दै लकडाउनलाई खुकुलो नपारिए अवज्ञा गर्ने बुधवार पत्रकार सम्मेलन गरी व्यवसायीहरुले चेतावनी दिएका हुन् ।
पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले कोरोना संक्रमण कहिलेसम्म रहन्छ र लकडाउन कहिलेसम्म लागू हुन्छ भन्ने निश्चित नभएकाले लकडाउनको मोडेलिटी परिवर्तन गर्दै खुकुलो पार्न सरकारसँग माग गरिएको बताए ।
उनले भने– ‘हाम्रो ध्येय व्यापार मात्रै हैन, व्यापार गर्दै राज्यलाई कर र शुल्क तिर्नु र अर्थतन्त्रलाई चलायमान बनाउनु पनि हो ।’
सरकारले जेठ २५ गतेसम्म विभिन्न कर दाखिला गर्न भनेपनि यस समयमा तिर्न नसकिने र समयसीमा असार मसान्तसम्म पु¥याउनुपर्ने व्यवसायीहरुको माघ रहेको बताए ।
सरकारले लकडाउनका समयमा कर तिर्न वाध्य पारिए सम्पुर्ण उद्योगी व्यवसायीले सरकारलाई ताला चावी वुझाउने आफुहरुले तयारी गरेको अध्यक्ष अधिकारीले बताए ।
उनले भने– ‘एक त हाम्रो व्यवसाय बन्द छ, लकडाउनले धेरै उद्योग व्यवसायहरु बन्द छन, कर्मचारीहरु विदामा छन उनीहरु कहिले फर्किने अनि हिसाव किताव गरेर राजश्व दाखिला गर्ने ?’