पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सबै खाले विरामीको उपचार भैरहेको भन्दै भ्रम नछर्न आग्रह गरेका छन् ।
गण्डकी सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा उनले एउटा भवन मात्र कोरोना संक्रमितको उपचारका लागि प्रयोग भएको बताउँदै अन्य सबै खाले सेवा सञ्चालन भइरहेको मुख्यमन्त्री गुरुङले बताए ।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएर कुनै गलत काम नगरेको पनि बताएका छन् ।
मुख्यमन्त्री गुरुङले प्रदेशका सांसदहरुलाई हल्लाको भरमा प्रश्न उठाउन नहुने बताउँदै यथार्थ बुझेर प्रश्न गर्न आग्रह गरे ।
उनले संघीय सरकारले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाका विरामी उपचार गर्ने अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको भन्दै आवश्यक परे पुरै अस्पताललाई कोरोना भाइरसको उपचार गर्ने अस्पतालमा रुपान्तरण गर्ने बताए ।
‘भोलि चाहिन सक्छ, त्यसो भयो भने ४०० बेड नै लिनु पर्ने हुन्छ ।’ उनले भने–हामीसंग विकल्प पनि छन, मणिपाल, गण्डकी मेडिकल कलेज, चरक अस्पताललगायतका नीजि अस्पताल पनि लिन पर्ने हुन सक्छ ।’
हाललाई अस्पतालको हाता एउटै भए पनि आइसोलेसन राखिएको भवन नै फरक रहेकाले सुरक्षित तरिकाले उपचार भइरहेको मुख्यमन्त्री गुरुङले बताए ।