पोखरा, २२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगमी साउन महिनासम्ममा गण्डकी प्रदेशमा विदेश गएका ३० हजार नागरिक फर्कने अनुमान गरेका छन ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा उनले भारतलगायत तेश्रो मुलुकबाट जेठदेखि साउन महिनासम्ममा ३० हजार नागरिक फर्कन सक्ने भएकाले उनीहरुलाई लक्षित गरेर सरकारले योजना बनाइरहेको बताए ।
नेपालमा कोरोना संक्रमण देखिएयता हालसम्म ६ हजार परीक्षण भइरहेकोमा यसलाई बढाएर मासिक १० हजार परीक्षण गर्ने योजनामा प्रदेश सरकार लागिरहेको बताए । उनले भने, ‘ती सबैको पिसिआर टेस्ट गर्नुपर्छ । महिनामा १० हजारको टेस्ट गर्नसक्नुपर्छ ।’
प्रदेश सरकारले थप एक पिसिआर मेसिन खरिद गर्ने प्रक्रियामा रहेको बताए । प्रदेशमा हाल २ वटा पिसिआर मेसिन छन् ।
नीति तथा कार्यक्रममा संसदमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै उनले हाल दैनिक ५ नमुना परीक्षण गर्ने क्षमता रहेकोमा नयाँ खरिद गरेपछि दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने बताए ।
हाल प्रदेशमा भिटिएम ६ सय मौज्दात रहेको र २६ हजार खरिद गर्न १० दिने सूचना जारी गरेको जानकारी उनले दिए । उनले भने, ‘केन्द्रको भर परेका छैनौं । केन्द्रले पठाए पनि त्यो पर्याप्त छैन, चाहिने बेलामा पाएका छैनौं । हाम्रो तयारी हामी आफैंले गरेका छौं । क्षमता अनुसार काम गरेका छौं ।’
मुख्यमन्त्री गुरुङले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि गरिएको दावी गरे ।