थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

-


     मर्दी न्युज    
     २२ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । बिहीवार थप ३ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार ३ सय ३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

बिहीवारसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६१ हजार २६२ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या २ हजार ३३५ जना रहेका छन् । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार १ सय ३४ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या २९० रहेको छ । नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखा र पाल्पा गरी १० जनाको मृत्यु भएको छ ।