तरकारी नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन

-


     मर्दी न्युज    
     २२ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकोे आज बसेको बैठकले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले किसानबाट उत्पादित तरकारी तथा फलफूलबाट कोरोना फैलिन्छ भनेर अनधिकृत रुपमा तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कारवाही गर्न समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।


बैठकमा कृषि उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमबारे गृह, कृषि र उद्योग मन्त्रालयसँग छलफल गरेको थियो । बैठकपछि तीन वटै मन्त्रालयले विभिन्न निर्देशन दिंदै समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारवाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

केही समय पहिले पोखरा, तनहुँ, कपिलवस्तुलगायतका विभिन्न जिल्लामा वडाअध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो ।

‘कोभिड– १९ रोकथाम गर्ने बेलामा तरकारी तथा फलफूल नष्ट गर्नेलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू,’ समितले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जनताको स्वास्थ्यको ख्याल गर्दै खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न र आवश्यक खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिने कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।