पोखरा । दैलेख जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा शुक्रबारमात्रै थप ९१ जनामा कोरोना संक्रमण देखिएको छ भने बिहीवार ११३ जनामा संक्रमण देखिएको थियो ।
जिल्लामा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ । प्रशासनले कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिन भन्दै अर्को आदेश नभइन्जेलका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ ।
निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ–भिरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको आसपासका क्षेत्रमा लागू गरिएको छ ।