काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)बाट १ सय ६८ जना नेपाली नागरिक शुक्रबार आइपुगेका छन् । कोरोना भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १६८ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा साँझ ५ः३८ बजे अवतरण गरेको छ ।
उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९ः१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि छ । उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने तयारी गरेको छ ।
विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् । ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । उनीहरु सुरक्षागार्ड हुन् । बाँकी अन्य कम्पनीमा कार्यरत सहित १ सय ६८ जना रहेका छन् ।
उनीहरुलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
उनीहरुलाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर सेनाले तयार गरेको छ । त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टाइन वा होम क्वारेन्टइनमा राख्ने तय हुनेछ ।