पोखरा । कोरोना भाइरस (कोभिड– १९) का कारण कतिपय खेलकुदहरु प्राय ठप्प छन् । कतिपयले भने प्रविधिलाई पछ्याई प्रतियोगिताको आयोजना गरेका छन् । विश्वभरी कोरोनाको संक्रमण फैलिएसंगै विभिन्न खेलहरुका प्रतिस्पर्धाहरु यति बेला प्रविधिमार्फत आयोजना भइरहेका छन् ।
यसै प्रविधिमार्फत भएको भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्से च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले कास्य पदक जितेकी छन ।
युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप प्रतियोगितामा रेखमायाले ३०–४० वर्ष उमेर समूहमा कास्य पदक जितेकी हुन् ।
उक्त उमेर समुहमा अरुवाकी जेनिफर गार्सियाले स्वर्ण तथा चिलीकी मार्गरिटा आस्कोबारले रजत पदक जितेकी थिइन । विजेताहरुले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । जुम प्रविधिमार्फत विहिबार राती सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समुहमा एकल पुम्से, एकल पारा पुम्से, फ्रिस्टायल र जुनियरमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले १ सय डलर बुझाएका थिए ।
त्यस्तै भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्से च्याम्पियनसिपतर्फ ५० वर्ष मूनिको समूहमा लक्ष्मणबहादुर ऐरले स्वर्ण पदक जितेका छन् । नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक समेत रहेका लक्ष्मणले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याएका थिए ।