पोखरा, २४ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिवार मात्र दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।
मृतकहरु डोल्पाको जगदुल्लाका एक ५८ वर्षीय पुरुषको जेठ २१ गते मृत्यु भएको हो। उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिला रहेको छ । उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन्। उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको हो। उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।