कोरोना संक्रमणबाट विश्वभर ४ लाखको मृत्यु, संक्रमितको संख्या ६९ लाख ६७ हजार बढी

-


     मर्दी न्युज    
     २५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २५ जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ४ लाख मानिसले ज्यान गुमाएका छन् । वल्डोमिटर्सको आइतबार बिहानसम्मको तथ्याङ्कअनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार ६ सय २३ पुगेको छ ।

कोरोना भाइरसबाट हालसम्म ६९ लाख ६७ हजार ३६ व्यक्ति संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १९ लाख ८८ हजार ५४४ जनामा पुष्टि भैसकेको छ ।

यसैगरी अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने राष्ट्रमा ब्राजिल पुगेको छ । ब्राजिलमा ६ लाख ७३ हजार ५८७ जना कोरोना संक्रमितको पुष्टि भएका छन् । त्यस्तै रसियामा ४ लाख ५८ हजार ६८९, स्पेनमा २ लाख ८८ हजार ३९०, बेलायतमा २ लाख ८४ हजार ८६८, भारतमा २ लाख ४६ हजार ६२२ तथा इटलीमा २ लाख ३४ हजार ८०१ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै अमेरिका छ । अमेरिकामा १ लाख १२ हजार ९६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी बेलायतमा ४० हजार ४६५, ब्राजिलमा ३५ हजार ९५७, इटलीमा ३३ हजार ८४६ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर ३४ लाख ७ हजार ५७५ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । उपचाररत ३१ लाख ५७ हजार ८३८ जनामध्ये ५३ हजार ५८७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म १३ जनाको ज्यान गएको छ । शनिवार हालसम्मकै सबैभन्दा धेरै ३२३ जना र आइतबार बिहान गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिएसँगै यसको संख्या ३ हजार २७३ पुगेको छ । हालसम्म ३६५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।



Tags: