क्वारेन्टाइन केन्द्रमै प्रजनन बस्दै गरुड

-


     मर्दी न्युज    
     २६ जेष्ठ २०७७ मा प्रकाशित


तस्विरः प्रशान्त घिमिरे (फाइल तस्विर)

प्रशान्त घिमिरे

कोरोनाको कहरका बीच भारत तथा अन्य देशबाट आएकाहरुलाई राख्न रुपन्देहीको कन्चन गाउँपालिकाले बेलभरिया स्थित प्रगति माबिमा अस्थाई क्वारेन्टाइन केन्द्र बनाएको छ । केन्द्रभित्र २९ व्यक्तिहरुलाई राखिएको छ । केन्द्रभित्रै अग्ला सालका रुखहरु पनि छन् । तिनै मध्ये एक सालको रुखमा सुकेका हॉंगाका स-साना झिंजाहरु बिछ्याएर गुँड लगाई ओथारो बसेका छन् एक जोडी लोभीपापी गरुड ।

तस्विरः प्रशान्त घिमिरे

गरुड प्रजातिमा पर्ने यो चरा एसिया महादेशमा मात्रै पाइन्छन् । लोभीपापी गरुडलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष (IUCN) को रातोसुचीमा “संबेदनशील” मा राखेको छ भने नेपालमा यसलाई संकटापन्नको नजिक भनिएको छ । यो गरुड पाकिस्तान (अहिले निकै कम देखिने), भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमर, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, पश्चिम मलेसिया, इन्डोनेसियामा पाइन्छन् । चिनको युनान प्रान्तमा पनि यसको अभिलेख गरिएको छ। फिलिपिन्समा भने लगभग लोप भएको आशंका गरिएको छ।

यसो त यसको अध्ययन नै कम भएको छ । त्यसमाथि गुँड सम्बन्धि अभिलेख बिश्वमै कम छन् । यस्तो अवस्थामा यो गरुडको गुँड फेला पर्नु संरक्षणका जगतमा खुसिको कुरा हो ।

नेपालमा सन् २०१७ देखि गुँड सम्बन्धि अनुसन्धान सुरु भएको छ । हाल सम्मको प्रारम्भिक अनुसन्धानले यसको गुँड तराईका जिल्लामा भन्दा पहाडी जिल्लाहरुमा बढी भेटिएको छ । कन्चन गाउँपालिका भित्र पर्ने गजेडी तालमा सन् २०१८ मा यस गरुडले गुँड लगाएर बच्चा कोरलेको थियो । सन् २०१९ मा भने उक्त स्थानमा गुँडनै लगाएन । गजेडी ताल रुपन्देहीको चर्चित पिकनिक हुने ठाउँ हो । हाल पुरानो गुँडकै मुनि एउटा स्टलपनि छ जसमा खाना पकाउने, नाचगान सहित मान्छेको भिड हुन्छ । मानविय गतिविधिका कारणले उक्त स्थान सन् २०१९ मा प्रयोग नगरेको सहजैअनुमान लगाउन सकिन्छ । तर लकडाउनका कारण भिडभाड तथा मानवीय हस्तक्षेप नहुँदा यस बर्ष पूर्ण निस्फिक्रीका साथ त्यस रुखमा अर्को गुँड लगाएको छ र ओथारो पनि बसेको छ ।

तस्विरः गंगा घले

मान्छेहरु कोरोनाको त्रासमा छन् । तर यो गरुड व्यस्त देखिन्छ आफ्नो नयाँ सन्तति निकाल्न । जोडीको एक ओथारो बस्दा अर्को खानाको जोहो गर्न निस्किन्छ । खाना खाएर अनि चारो लिएर आएको गरुड आफु ओथारो बस्छ र आफ्नो जोडीदारलाई पालो दिन्छ । यसो हेर्दा समानता पनि बिम्बित गर्छ । यतिबेला देशका बिभिन्न स्थानमा यो गरुडले गुँड लगाईरहेको छ । प्रकृतिमा रमाउन भने धेरैनै संर्घष गर्नु पर्छ यीनिहरुलाई । प्रजननका दौरानमा स्वार्थ जडित मानिसहरुवाट कति अण्डा नै निकालिन्छन् त कति रुखनै काटीन्छन् भने कति शिकार नै हुन्छन् । यदि यो सबैबाट बचें भने यी गरुडहरुले बच्चा कोरल्छन र उडाउँछन पनि ।

तर यति गर्दैमा सजिलो भने छैन । लोभीपापी गरुडले आहारा खोज्ने खेतबालीमा मान्छेको बस्ति बन्दै छन्, अझ भनौ उद्योग कलकारखाना बन्दै छन् जसले यसलाई प्रत्यक्ष असर गरेको छ । अर्को तिर यसले गुँड लगाउने अग्ला रुखहरु मासिंदै गएका छन् । सिमसारहरुको खस्किदो अवस्थाले पनि यो गरुड लगायत अन्य पंछी अरुलाई असर गरेको छ । तर पनि यस्तो अवस्थामा संबेदनशील सुचीमा भएको यस गरुडको अनुसन्धान र संरक्षणको प्रयास निकै कम छ ।

तस्विरः मनशान्त घिमिरे

स्वच्छ सिमसारको सूचक लोभीपापी गरुडले बिषालु सर्प देखि भ्यागुता, खेतबारीमा हुने अन्य किरा खाएर किसानलाई सहयोग गर्छ ।परिस्थितिक प्रणालीको सन्तुलनको लागि यसको संरक्षण निकै महत्व रहन्छ । विश्वमै चरा पर्यटन निकै महँगो पर्यटन हो । चरा अबलोकन तथा चराको फोटोग्राफी गर्ने पर्यटकहरु हालका बर्षहरुमा संख्यात्मक बृद्धि भएको परिप्रेक्ष्यमा यस्ता दुर्लभ हुँदै गएका प्रजाति लगाएत अन्य चराहरुले पर्यटकलाई झनै आकर्षित गर्दछ जसले स्थानीय एवमं राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्र्याउनेमा कुनै दुइमत छैन ।

दुर्लभ चराहरुकै लागि भनेर केहि उल्लेखनीय कार्य गर्न नसकेपनि भबिष्यमा यस्ता अध्ययन र संरक्षणलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँछन कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्री । साच्चै नै यदि स्थानीय सरोकारवालाले नै पंछी तथा बन्यजन्तुको संरक्षणका लागि प्रयास गर्ने हो भने संरक्षण प्रभावकारी हुन्छ । आशा गरौ देशभरि लगाएका गुँडहरुले नयाँ जीवन दिनेछन् ।

(लेखक पंछी अनुसन्धान तथा संरक्षणमा आबद्द छन् ।)