पोखरा, २६ जेठ । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा थप ५ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । सोमवार साँझ थप ५ सहित प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ ।
संक्रमितहरु गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ३३ र ३९ वर्षका २ पुरुष र सोही जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१ र ४० वर्षका दुई पुरुष त्यसै गरि ६३ वर्षीय महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
संक्रमित पाँचै जनलाई नवलपुरकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा उपचार गराउने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमितको शव उठेन
आज बिहान मात्रै गण्डकी प्रदेशमा स्याङ्जाका एक ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको शव अन्त्येष्टिको भने अझैंसम्म टुंगो लाग्न सकेको छैन । उनको शव व्यवस्थापन गर्ने स्थानको विषयमा स्थानीयबीच विवाद बढेपछि अन्त्यष्टि अनिश्चित भएको हो ।