चालू आवको आर्थिक वृद्धिदर १.८ प्रतिशतमात्र : विश्व बैंक

-


     मर्दी न्युज    
     २८ जेष्ठ २०७७ मा प्रकाशित


कोरोना महामारी तथा बन्दाबन्दीका कारण नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ मा खुम्चने प्रक्षेपण नेपाल सरकारले गरिरहँदा विश्व बैंकले भने १ दशमलव ८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गर्दै विश्व बैंकले २०२१ मा नेपालको आर्थिक वृद्धिदरमा सुधार आई २ दशमलव १ मा पुग्ने अनुमान गरेको छ ।

कोरोनाका कारण औद्योगिक उत्पादन ऋणात्मक रहेको र विश्व निर्यात घट्नुका साथै विप्रेषणमा उल्लेख्य कमी आउने भएकाले अर्थतन्त्रमा संकुचन आउने उसको भनाइ छ । एक तिहाइ भारतीय र चिनियाँ पर्यटकमा निर्भर रहेको पर्यटनमा उल्लेख्य कमी आएकाले आर्थिक वृद्धिदर १ दशमलव ८ मा सीमित रहने बैंकको भनाइ छ ।

प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । नेपालको चालू आर्थिक वर्षको प्रक्षेपण कम भए पनि दक्षिण एसियाली देशमा भने दोस्रो ठूलो हो । नेपालभन्दा अगाडि भारत छ, जसले ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यद्यपि सन् २०२१ मा भने भारतको वृद्धिदर ३.२ प्रतिशतले ऋणात्मक हुनेछ ।

वृद्धिदरका हिसाबले नेपालपछि बङ्गलादेशको १.६ प्रतिशत र भुटानको १.५ प्रतिशत पुग्ने अनुमान छ । बाँकी सबै दक्षिण एसियाली देशको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण छ । माल्दिभ्सको सबैभन्दा बढी १३ प्रतिशत, अफगानिस्तानको ५.५ प्रतिशत, श्रीलङ्काको ३.२ प्रतिशत र पाकिस्तानको २.६ प्रतिशतले वृद्धिदर ऋणात्मक हुने विश्व बैङ्कको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक र सेवासम्बन्धी गतिविधि ठप्प रहेको, अन्तर्देशीय व्यापार घटेको तथा लकडाउनका कारण उपभोगमा आएको कमीले यस क्षेत्रको वृद्धिदर प्रभावित बनेको विश्व बैङ्कले जनाएको छ । त्यस्तै पर्यटनमा आधारित अर्थतन्त्रका रूपमा रहेका माल्दिभ्स, भुटान, नेपाल र श्रीलङ्काजस्ता देशको वृद्धिदर थप प्रभावित बनेको विश्व बैङ्कको निष्कर्ष छ ।