
काठमाडौं । नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गर्दै आज बिहान १० बजे ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायत सरकारले गरेका कामका विषयमा पार्टी बैठकले गरेको निर्णयहरुसहितको ज्ञापनपत्र आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन ।
काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकारको ध्यानाकर्षण गराउन पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा नेता गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना सहभागी रहेको सूर्य थापाले जनाएका छन् ।
कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोनाको महामारी नियन्त्रण गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि ध्यानाकर्षण गराएको काँग्रेस नेता रामचन्द्र पौडेलले बताए ।
पत्र बुझ्दै प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने बताएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् ।