तस्विरः गंगा घले
पोखरा, जेठ २८ गते । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापि महामारीको सबैभन्दा धेरै असर पर्यटन व्यवसायमा पर्न गएको छ । पर्बतिय पर्यटन (ट्रेकिङ तथा पर्बतारोहण) मा भरिया, नाइके तथा किचन ब्वाईको रूपमा दैनिक ज्यालार मजदुरीमा परिवारको पालनपोषण गर्दै आइरहेका बिपन्न र आधारभुत तहमा कामगर्ने जनशक्ति एकदमै मारमा परेका हुन् ।
साधारणतया अघिल्लो वर्षहरुमा यो ब्यबसाय मा लागेको मजदुरहरुको लागि बसन्त ऋतु (स्प्रीङ्ग सिजन) राम्रै कमाई हुने समय हो । यो वर्ष सन २०२० को सुरुदेखि नै कमाई नभएको र अब काम कहिले पाइने भन्नेकुराको पनि कुनै सुनिश्चित छैन । धेरै मजदुरहरुको घरमा चुल्हो बल्न नसक्ने अबस्था सृजना भएको छ ।
युवा पर्यटन ब्यवसायी तथा समाजसेवी, कर्मा फ्लाइट्स एड्भेन्चर ट्रेक्स प्रा.लि.का निर्देशक प्रेमबहादुर कुँवरको पहलकदमी तथा ट्रेकिङ विथ पर्पोज नामक संस्थाको सहकार्य साथै पोखरा महानगरपालिका वडा नं ६ को संयोजनमा आज बिहान कर्मा फ्लाईट्सको अफिस परिसर खहरे बङ्गलादी, लेकसाइडमा खाद्यान्न राहत वितरण कार्यक्रम सम्पन्न भयो ।
हुम्ला, जुम्ला ,कालिकोट ,डोल्पा ,पर्बत, कास्की ,मनाङ्ग, रामेछाप ,काभ्रेपलान्चोक, सिन्धुली, भोजपुर, सोलुखुम्बु लगायतका जिल्लाहरुबाट पोखरा आइ बसोबास गरेका ट्रेकिङ (पदयात्रा) आश्रित गाइड तथा भरियाको रूपमा काम गर्ने साठी परिवारलाई राहत बाँडिएको स्वयंसेवकको रूपमा खटिनुभएकी मना कुँवर (राई) ले बताउनुभयो ।
प्रति परिवार ३० किलो चामल र त्योसङ्गै दाल, खाने तेल, नुन, साबुन, गेडागुडी, मस्यौरा इत्यादि गरि प्रतिपरिवार २८ सय मूल्य बराबरको खाद्यान्न वितरण गरिएको थियो ।
राहत लिन आउनेहरूलाई स्यानिटाइजर प्रयोग गर्न, मास्क लगाउन तथा आवश्यक भौतिक दुरि कायम गर्न लगाइएको थियो ।
कार्यक्रममा छोटो भनाई राख्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा सदस्य हरिकृष्ण पहारीले यस्तो कठिन परिस्थितिमा ट्रेकिङ मजदुरहरुलाई गरेको मानवीय सहयोगको सराहना गर्नुभयो भने कर्मा फ्लाइट्स फाउन्डेसनका सल्लाहकार शिवलाल धितालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।