पोखरा । बिहीबार थप २ सय ५० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमण देखिनेमा २३० पुरुष र २० जना महिला छन् । योसँगै संक्रमितको संख्या ४ हजार ६१२ पुगेको छ ।
संक्रमित हुनेमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना, झापाको ३ जना, दाङका ८ जना, रोेल्पाका १४ जना, बाँकेका १३ जना , दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका २ जना, प्युठानका ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना र नवलपरासी पश्चिमका ६ जना रहेका छन् ।
मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९ सय ३० जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७८ हजार एक सय ४३ को नमुना परीक्षण गरिएको छ ।
बिहीबारसम्म क्वारेन्टाइनमा एक लाख ६२ हजार दुई १३ जना बसेका छन् भने तीन हजार ७ सय ३८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।