काठमाडौं । सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ । त्यस्तै सरकारले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् ।
सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।
त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालकबाहेक दुई जनाले यात्र गर्न पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्ने पाउने निर्णय गरेको सरकारका प्रवक्ता खतिवडाले जानकारी गराएका छन् ।
शिक्षण संस्थाहरूका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउन, रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने जानकारी दिएका छन् ।
सामान्य हिँडडुल गर्न पाउने र त्यसको लागि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र भिडभाड गर्न नपाउने जनाइएको छ । निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक रोमा एकजना मात्र राख्न पाउने र मास्क लगाएर स्यानिटाइज गरेर मात्र सवारी चलाउने पाउने मन्त्री खतिवडाले बताए ।