पोखरा । देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बिगत केही दिनदेखि काठमाडौंलगायत देशका विभिन्न भागमा विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति विज्ञप्तिमार्फत गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशमा जारी बन्दाबन्दी (लकडाउन)को आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित जिल्लाका सिडिओले नगद जरिवाना र थुनामा राख्ने उल्लेख गरेका छन् ।
‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि बिहीबार प्रधानमन्त्री निवास बालुवाटार, पोखरा, चितवनलगायत देशभरका विभिन्न ठाउँमा सयौं मानिस प्रदर्शनमा उत्रिएका थिए ।