पोखरा, ३० जेठ । गण्डकी प्रदेशमा शुक्रवार बिहान थप ३७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु पर्वत जिल्लाका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ र नवलपुरका १ गरी ३७ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।
शुक्रवार संक्रमित पुष्टि भएका पर्वत कुश्मा नगरपालिकाका १० जना रहेका छन् । यसमध्ये एकजना पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेको बुझिएको छ । यसैगरी पर्वतकै पैयुँ गाउँपालिकाका १, बिहादी गाउँपालिकाका १ र पर्वतकै ठेगाना नखुलेको १ जना रहेको छ ।
त्यसैगरी स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना, अर्जुनचौपारी गाउँपालिकाका १ र ठेगाना नखुलेको १ गरी २२ जना रहेका छन् ।
त्यस्तै तनहुँको घिरिङ गाउँपालिकाका १९ वर्षीय एक पुरुष र नवलपरासी (बर्दघाट सुस्त पूर्व) मध्यविन्दु नगरपालिकाका १७ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।