आज विश्व बालश्रम विरुद्ध दिवस

-


     मर्दी न्युज    
     ३० जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ३० जेठ । आज विश्व बालश्रम विरुद्धको दिवस । प्रत्येक वर्ष जुन १२ तारिखका दिन विश्वका १०० भन्दा बढी देशमा बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार विश्वव्यापी रूपमा १५ करोड बालबालिका बाल श्रममा संलग्न छन्, जसमध्ये ७ करोड खतरनाक काममा छन् । विश्वमा १० बालबालिकामध्ये एक जना बालश्रममा संलग्न भएको तथ्याङ्कले देखाएको छ । सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठनले बालश्रम विरुद्ध विश्व दिवसको रुपमा शुरुवात गरेपछि बालश्रममा कमी आएको हो ।
सन् २००२ जुन १२ यता विश्वव्यापी बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ ।

५ देखि १७ वर्ष उमेरको बालबालिकालाई श्रममा लगाएमा बालश्रमिकको रुपमा लिने गरिएको छ ।

यसवर्ष भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण नेपालमा कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन । बालश्रम गर्न बाध्य बालबालिकाको हितको लागि काम गर्न जनचेतना फैलाउने यस दिवस भने कोरोनाका कारण ओझेलमा परेको छ ।

बालबालिकाहरुले भोगेका मानसिक तथा शारीरिक समस्याहरुबारे छलफल गरी जागरुक फैलाउन यस दिवसले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

युनाइटेड नेशन्सको वेबसाइटका अनुसार, बाल श्रम २०२० बिरुद्धको विश्व दिवसले बालश्रममा हुने संकटको प्रभावमा केन्द्रित रहेको जनाइएको छ । कोभिड–१९ को महामारी यसले ल्याउने आर्थिक र श्रम बजारको आघातले व्यक्तिहरूको जीवनमा ठूलो असर गरिरहेको बताइएको छ । जसका कारण यस संकटले लाखौं कमजोर बच्चाहरूलाई बाल श्रममा धकेल्न सक्ने बताइएको छ । कोरोनाबाट उत्पन्न आर्थिक समस्याका कारण यी बच्चाहरू अबको परिस्थितिहरूको सामना गर्न अझ बढी जोखिममा रहेको औंल्याउँदै अझ गाह्रो र लामो घण्टा काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस वर्ष, विश्व बालश्रम विरुद्धको दिवस एक भर्चुअल अभियानको रूपमा मात्र सञ्चालन गरिएको छ । आईएलओ र युनिसेफले विश्वव्यापी रूपमा बाल श्रममा कोभिड–१९ को प्रभाव हेर्नको लागि ‘सिमुलेशन मोडल’को विकास गर्ने जनाइएको छ । – एजेन्सीको सहयोगमा