मोटरसाइकल दुर्घटना भएपछि उपचार गर्न पोखरा आएका थिए कुश्माका संक्रमित

-


     मर्दी न्युज    
     ३० जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत कुश्माका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मोटरसाइकल दुर्घटनाबाट घाइते भएपछि १० दिन अघि अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित व्यक्ति कुश्मा–३ का हुन् । विदेशबाट आएको कुनै ट्राभल हिस्ट्री नभएको र दुर्घटना लगत्तै ती व्यक्ति उपचारका लागि पोखरा आएको उक्त वडाका वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए । ‘दुर्घटनामा परेर टाउकोमा चोट लागेपछि १० दिनअघि पोखरा उपचार गर्न गएका हुन्, खै कताबाट संक्रमण भयो, रिपोर्ट कोरोना पोजिटिभ आएछ’ उनले भने ।

यता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले संक्रमणको स्रोत खोज्न थालिएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएको छ । निर्देशक डा. शर्माले राति नै रिपोर्ट आइसकेपछि टोली तयार भइसकेको बताए ।

संक्रमित अहिले अस्पतालको ‘न्यूरो’ शाखाको आइसियूमा छन् भने वार्डलाई शिल गरिएको अस्पताल स्रोतले जनाएको छ ।

पर्वतमा शुक्रबारमात्रै १३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये मणिपाल अस्पतालमा देखिएका विरामीबाहेक सबै भारतबाट आएका थिए ।



Tags: