पोखरा । शुक्रवार थप ४ सय ४८ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमण देखिनेमा ४२४ पुरुष र २४ जना महिला छन् । योसँगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देहीका १६, महोत्तरीका १६, धनुषाका १५, बर्दियाका १५ जना, झापा १३, पर्वतका १३, सिराहाका ११, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार शुक्रवारसम्म पीसीआर विधिबाट एक लाख २१ हजार ८ सय ६२ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ८८ हजार ५२ को नमुना परीक्षण गरिएको छ ।
हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
मन्त्रालयकाअनुसार अर्घाखाँची, मालारानी गाउँपालिकाको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ पुगेको छ ।